Friday, August 21, 2026

Font Size:

logo
1 years ago July 03, 2025 Visted:133

पर्यटन प्रवर्धनको पर्खाइमा सिन्धुलीको दुम्जा


img

काठमाडौँ, असार १९ गते । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ र २ मा फैलिएको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको सुन्दर गाउँ हो दुम्जा। काठमाडौँबाट बीपी राजमार्ग हुँदै करिब ८१ किलोमिटर दूरी र करिब साढे दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने दुम्जा, पर्यटकको नजरमा पर्ने तर प्रवर्धनको पर्खाइमा रहेको स्वर्गजस्तै गाउँ हो।

विगतमा एउटै वडाभित्र समेटिएको दुम्जा क्षेत्रलाई २०७३ सालपछि दुई वडामा विभाजन गरियाे। एकातर्फ, सुनकोशी र रोशी खोलाको दोभानबाट सुरु भएर हरियाली धान फाँटसम्म अनि अर्कातर्फ महाभारत डाँडामा हिउँजस्तै फुल्ने लालीगुँरासका रङ्गीन पहाडसम्म फैलिएको छ ।

लेक क्षेत्रमा, विशेषतः वडा नम्बर २ मा, आलुचा, जुनार, सुन्तला, किवी लगायतका फलफूल तथा विभिन्न तरकारी उत्पादन हुन्छन्। त्यस्तै, जडिबुटी र रैथाने बालीका लागि पनि यो क्षेत्र परिचित छ। बेँसी क्षेत्रमा धान, मकै, तोरी लगायतका बाली उत्पादन हुन्छ । अहिलेको मौसममा दुम्जा हरियाली डाँडा, पाखा, खोलाको चिसो हावा र  हरित छायाले अझ आकर्षक देखिन्छ।


 

इतिहास र गौरवका दृष्टिले दुम्जा अद्वितीय छ। याे गाउँमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक नेता तथा नेपाली कांग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको जन्म भएको थियो। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पुर्ख्याैली थलो पनि हो। त्यसैगरी, जागरण कवि धरणीधर कोइराला,  प्रसिद्ध साहित्यकार शङ्कर कोइराला तथा मोहन कोइरालाको समेत पुर्ख्याैली सम्बन्ध दुम्जासँग गाँसिएको छ।

यस्ता ऐतिहासिक, साहित्यिक र राजनीतिक व्यक्तित्वहरू जन्मिएको, काठमाडौँसँग नजिक, सौन्दर्यले भरिपूर्ण गाउँ हुँदाहुँदै उचित पर्यटन पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी तथा सरकारी बेवास्ताका कारण दुम्जा आज पनि पर्यटन प्रवर्धनको पर्खाइमै छ।

 समुचित योजना, पूर्वाधार निर्माण र प्रचार गरिएमा दुम्जा निकट भविष्यमा नै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि प्रमुख गन्तव्य बन्नसक्ने सबै सम्भावना बोकेको छ। 

Share:

प्रतिक्रिया