Monday, June 15, 2026

Font Size:

logo
12 Months ago July 01, 2025 Visted:79

राक्सिराङमा आयुर्वेद औषधालय सञ्चालन


हेटौँडा,असार १७ गते। मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङमा–५, ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मङ्गलबार उद्घाटन गरिएको छ। औषधालयको नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो।

उहाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको प्रभावकारी माध्यमको रूपमा चिनाउँदै आयुर्वेदको महत्त्वको बारेमा आम नागरिकलाई बुझाउनुपर्नेमा जोड्दिनुभयो। कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै राक्सिराङमा वर्षौँदेखिको जग्गा पुर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने वचनबद्धता दिनुभयो।

औषधालयमार्फत ओपिडी सेवा, ज्येष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने औषधालय प्रमुख कविराज निरीक्षक रामवचन शाहले जानकारी दिनुभयो। गाउँपालिकाको ३० लाख रुपियाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय दुई कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गर्नुभएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उपस्थिति थियो।

Share:

प्रतिक्रिया