Monday, June 15, 2026

Font Size:

logo
1 years ago April 14, 2025 Visted:114

पूर्वी तराईमा सुरु भयो ‘सिरुवा मेला’


img

 सुनसरी- नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका थारु, राजवंशी, ताजपुरिया, गनगाई, मेचे, माझी लगायत आदिवासी समुदायमा मनाइने सिरुवा पर्व शुरु भएको छ।

यो सांस्कृतिक पर्व नयाँ वर्षलाई स्वागत गर्दै प्रत्येक वर्ष मनाइन्छ, जसमा एक महिनासम्म विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छन्।

सुनसरीको खनारबाट सुरु हुने सिरुवा मेला स्थानीय ग्रामथानमा महिना दिनसम्म नियमित लाग्दछ। थारु आदिवासी समुदायका लागि यो पर्वको अत्यन्त धार्मिक र सामाजिक महत्व रहेको छ।

वर्षभरिको गलत सोच, रिस र अन्य नराम्रा कुरा पानीले पखाल्ने विश्वासका साथ यस पर्वको पहिलो दिन ‘पानी सिरुवा’ नामक विशेष विधिबाट सुरुवात गरिन्छ, जहाँ आपसमा पानी छेपेर शुद्धता र मेलमिलापको संकेत दिइन्छ।

सिरुवा मेलामा स्थानीय ग्राम थानहरूमा फुलघोडा (कागजबाट बनाइएको घोडा) चढाइने, खसी, बोका, हाँस, परेवा लगायतका जनावरको बलि दिएर भाकल पुरा हुने विश्वास गरिन्छ।

खनारस्थित राजाजी विछुधामी ग्राम थान पूजा समितिका अध्यक्ष दिनेश चौधरीका अनुसार, यो परम्परा थारु समुदायको गहिरो आस्था र श्रद्धासँग जोडिएको छ।

यो पर्वमा विभिन्न प्रकारका परिकारहरू पकाएर खाने प्रचलन छ।

विशेषगरी राजवंशी, थारु, ताजपुरिया, गनगाई, माझी समुदायका मानिसहरूले झापा, मोरङ र सुनसरी जिल्लामा यो पर्व भव्य रूपमा मनाउने गर्छन्।

थारु संस्कृति विज्ञ रामसागर चौधरीका अनुसार, सिरुवा केवल धार्मिक चाड मात्र नभई आपसी सद्भाव, पारिवारिक पुनर्मिलन र सामुदायिक उत्सवको प्रतिक पनि मानिन्छ ।।

Share:

प्रतिक्रिया