Thursday, August 20, 2026

Font Size:

logo
3 Hours ago August 20, 2026 Visted:2

भारतका स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता


img

काठमाडौँ, भदौ ४ गते । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फिर्ता हुनुभएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो । भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । उहाँले राष्ट्रपति पौडेल, प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह र प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।

सेनाध्यक्ष सेठको यो भ्रमणले दुई देशबिच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको  छ ।

माछापुच्छ«े समाचारदाता माधवप्रसाद बरालका अनुसार भारतका स्थल सेनाध्यक्ष जनरल सेठले भारतीय सेनामा सेवा गरेका गोरखा भूतपूर्व सैनिकहरू भारत र नेपालबिचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनुभएको छ ।

बुधबारै पोखरा आएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा आयोजित कार्यक्रममा गोरखा सैनिकको वीरता, त्याग र योगदानले भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भारतीय सेनामा आफ्नो जवानी समर्पित गरेका भूतपूर्व सैनिकसँग प्रत्यक्ष भेट गर्न पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताउनुभयो । “भूतपूर्व सैनिक मात्र होइनन्, भारत र नेपालबिचको मित्रता र विश्वासका जीवित प्रतिनिधि हुनुहुन्छ,” उहाँले भन्नुभयो, “तपाईंहरूको सेवा र बलिदानको सम्मान गर्नु र कल्याणको ख्याल राख्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।”

गोरखा सैनिकले बहादुरी, बफादारी र बलिदानमार्फत विश्वभर छुट्टै पहिचान बनाएको उल्लेख गर्दै उहाँले भारतीय सेनासँग गोरखा सैनिकको सम्बन्ध गौरवमय इतिहासले भरिएको बताउनुभयो । भारत र नेपालबिचको सम्बन्ध दुई छिमेकी मुलुकबिचको सम्बन्ध नभई संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोडिएको गहिरो सम्बन्ध भएको उहाँको भनाइ थियो । भगवान् राम र माता सीताको सम्बन्ध, पशुपतिनाथ र काशी जस्ता धार्मिक स्थलप्रतिको साझा आस्था तथा खुला सीमाबाट जनस्तरमा कायम रहेको सम्बन्धले दुई देशलाई नजिक बनाएको उहाँको भनाइ थियो । उहाँले नेपालमा रहेका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारको स्वास्थ्य र कल्याणलाई भारतीय सेनाले प्राथमिकतामा राखेको बताउनुभयो । 

कोहलपुरमा नयाँ इसिएचएस पोलिक्लिनिक सञ्चालनमा आएको उल्लेख गर्दै सेनाध्यक्ष सेठले पश्चिम नेपालका भूतपूर्व सैनिकले अब स्वास्थ्य उपचारका लागि काठमाडौँ, बुटवल र पोखरासम्म धाउनुपर्ने अवस्था धेरै हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगति प्राप्त गरेका गोरखा भारतीय सैनिकका श्रीमतीलाई वीर नारीबाट सम्मान गर्नुका साथै विभिन्न बहादुरी पदक प्राप्त गरेका भूतपूर्व गोरखा सैनिकलाई पनि सम्मान गरिएको थियो ।

Share:

प्रतिक्रिया