रेसुङ्गा (गुल्मी), भदौ २ गते । गुल्मीको मदाने गाउँपालिका–६, न्वारा क्षेत्रमा बाख्रामा पिपिआर (पीपीआर)रोगको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले उच्च सतर्कता अपनाउन आठबुँदे अपिल जारी गरेको छ।
पिपिआर संक्रमणका कारण चार वटा बाख्रा मरेका छन् भने आठ वटामा संक्रमण देखिएको छ। त्यसपछि पशुपालक किसान तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
भेडा तथा बाख्रामा तीव्र रूपमा फैलिन सक्ने र ठुलो सङ्ख्यामा पशुमा संक्रमण भई क्षति हुन सक्ने भएकाले सम्भावित संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित किसान, पशुपालक तथा सरोकारवालालाई रोगका लक्षण देखिएका बाख्रा तथा भेडालाई तत्काल स्वस्थ पशुबाट छुट्याएर व्यवस्थापन गर्न आग्रह गरेको छ। साथै, जिल्लाभर पालिएका सबै बाख्रा तथा भेडालाई पिपिआरविरुद्धको खोप अनिवार्य रूपमा लगाउन अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार मदाने गाउँपालिका–६, न्वारा क्षेत्रबाट अर्को सूचना जारी नभएसम्म बाख्रा अन्यत्र लैजान, बिक्री–वितरण गर्न वा ओसारपसार गर्न रोक लगाइएको छ।
त्यस्तै, प्रभावित क्षेत्र आसपासका अन्य स्थानीय तहमा समेत बाख्रा तथा भेडालाई पिपिआरविरुद्धको खोप लगाई रोगको संक्रमण र फैलावट रोक्न आवश्यक व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ।
गैह्रेले पिपिआर लागेका अधिकांश भेडा तथा बाख्रा मर्ने सम्भावना रहने भएकाले पशुपालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो।प्रशासनले जारी गरेको सूचना तथा निर्देशनको अवज्ञा गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया