तनहुँ, भदौ २ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रेसँगै सडक सुरक्षा प्रविधि जडानको कामले तीव्रता पाएको छ । सडक स्तरोन्नति अन्तिम चरणमा पुग्दै गर्दा सम्भावित दुर्घटना न्यूनीकरण गरी यात्रालाई सुरक्षित बनाउन आधुनिक सडक सुरक्षाका सामग्रीहरू जडान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
एसियाली विकास बैंकको ऋण सहायतामा निर्माणाधीन ३८.७१ किलोमिटर सडक खण्डमा हालसम्म १९.५ किलोमिटर क्षेत्रमा ‘डब्लु–बिम’ (घुमाउरो फलामको सुरक्षा बार) र ११.३ किलोमिटर पैदल मार्ग निर्माण पूरा भइसकेको छ । आयोजनाका इन्जिनियर अनन्त बरालका अनुसार कालोपत्रे भइसकेका सडक खण्डहरूमा उच्च गुणस्तरको तापक्रम संवेदनशील रङमार्फत सडक संकेत रेखाङ्कन (लेन मार्किङ), सांकेतिक बोर्ड तथा सुरक्षा बार जडानको काम भइरहेको छ ।
“राजमार्गमा सवारी साधनको तीव्र गति र अव्यवस्थित मोडहरूका कारण दुर्घटनाको जोखिम हुने भएकाले सुरक्षा पूर्वाधारमा कुनै सम्झौता गरिएको छैन,“ इन्जिनियर बरालले भन्नुभयो, “पहाडी तथा घुम्ती क्षेत्रहरूमा राखिएका सुरक्षा बारले गाडीहरूलाई सडकबाहिर खस्नबाट जोगाउँछ भने रातको समयमा सडक रेखांकनले चालकलाई स्पष्ट मार्गदर्शन दिन्छ ।’’ इन्जिनियर बरालका अनुसार हालसम्म मुख्य चार लेन सडकको ३७.२८ किलोमिटर खण्डमा अलकत्राको अन्तिम कालोपत्रे (असफाल्ट) भइसकेको छ भने समग्र खण्डको भौतिक प्रगति ८२.६३ प्रतिशत पुगेको छ।
यसैगरी, १२ मध्ये ११ वटा साना पुल र १०५ वटै नाला (कल्भर्ट) निर्माण सम्पन्न भइसकेका छन् । सडक सुरक्षाका उपायहरू अपनाइँदै गर्दा बजार क्षेत्रमा विद्युतीय पोल स्थानान्तरण र जथाभाबी खोलिने शाखा सडकहरूले केही चुनौती थपेका छन् । “हामीले सडक सुरक्षा बढाउन मुख्य राजमार्गमा पहुँच नियन्त्रण (एक्सेस कन्ट्रोल) गर्न खोजेका छौँ, त्यसैले स्थानीय नागरिक र जनप्रतिनिधिहरूले तोकिएको ढाँचा अनुसार मात्र दोहोरो मोड (यु–टर्न) प्रयोग गर्न र जथाभावी शाखा सडक नमिलाउन सहयोग गर्नुपर्छ ।’’ इन्जिनियर बरालले आग्रह गर्नुभयो । चीनको ‘यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’सँग सात अर्ब ४० करोड रूपियाँमा ठेक्का सम्झौता भई अघि बढेको यो सडक निर्माण सम्पन्न भएपछि सुरक्षित र आधुनिक सडक पूर्वाधारको उत्कृष्ट उदाहरण बन्ने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया