Thursday, August 20, 2026

Font Size:

logo
6 Months ago February 12, 2026 Visted:50

साढे ५८ करोड भ्रष्टाचार तेह्र जनाविरुद्ध मुद्दा


img

काठमाडौँ, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिकामा रहेको भरतताल निर्माणमा ठुलो आर्थिक अनियमितता भएको देखिएको छ । अनियमिततामा संलग्न रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १३ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सागरनाथ वन विकास परियोजनाभित्र निर्माण गरिएको उक्त ताल निर्माण गर्दा सो परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरेको पनि संलग्नता रहेको दाबी आयोगले गरेको छ । 

बुधबार दायर गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी १३ जनालाई नै जनही ५८ करोड ६२ लाख १४ हजार छ सय रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ । आयोगका अनुसार उक्त वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा उत्खनन भएको वन पैदावारको रोयल्टी असुल गर्ने क्रममा अनियमितता भएको अनुसन्धानबाट देखिएको छ । उक्त वन पैदावारबाट साबिक वन नियमावली, २०५१ तथा हाल प्रचलित वन नियमावली, २०७९ बमोजिमको रोयल्टी असुल गर्नुपर्नेमा त्यसो नगरी एकआपसमा मिलेमतो गरेर हिनामिना गरेको आयोगबाट सङ्कलन तथा परीक्षण गरिएका मिसिल संलग्न सबुद प्रमाणबाट स्थापित भएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नगरपालिकाका प्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, परियोजनाका तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलालप्रसाद कलवारलाई पनि प्रतिवादी बनाइएको छ । त्यस्तै परियोजनाका तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्रप्रसाद चौधरी, भोला यादव र कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेललाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी सबैलाई जनही ५८ करोड ६२ लाख १४ हजार छ सय रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 

Share:

प्रतिक्रिया