Monday, June 15, 2026

Font Size:

logo
5 Months ago January 15, 2026 Visted:36

टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री


img

मानसरोवर, माघ १ गते। टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। 

टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्। 

टोखा नगरपालिका–२ र ३ मा चाकू उत्पादन हुँदै आएको छ। यो टोखाको पुरानो बजारसमेत हो। उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो । 

टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पु¥याउने गरिन्छ। टोखामा उत्पादन हुने चाकूले नेपालको करिब  ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ।

टोखा परम्परागत चाकू संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकू नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताउनुभयो। 

टोखामा पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुँदै आएको छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ। 

टोखाका उद्योगमा हाल सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन्। 

टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष  बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकू उद्योगले वार्षिक चाकू र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्दै आएको बताउनुभयो। टोखामा कृष्ण चाकू उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एण्ड तिरौला उद्योग ठूला उद्योग हुन्। 

कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकू बनाईँदै आएको छ। धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ। 

यहाँ उत्पादित सादा चाकूको मूल्य प्रतिकिलो १४०, मसला चाकूको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकू स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो। “टोखा नगरपालिका–२ गलेमा चाकू स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ,” छिट्टै चाकू स्तम्भ निर्माण गछौँ,” उहाँले भन्नुभयो। टोखाले चाकूलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ।

नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने प्रचलन छ। साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकू खाने चलन छ। चाकू चिसो लागेका बेला पनि खाने चलन छ। चाकू खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकू खुवाउँदा राम्रो हुने मान्यता छ। यस्तै माघे सङ्क्रान्तिमा चाकूबाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ। रासस 

Share:

प्रतिक्रिया