Monday, June 15, 2026

Font Size:

logo
11 Months ago July 22, 2025 Visted:104

कोशीमा पानीको बहाव : कसैलाई डर, कसैलाई अवसर


img

इनरुवा, साउन ६ गते । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा पानीको बहाव बढ्दा नेपाल र भारतीय नागरिकहरुमा चर्चासँगै त्रास पनि उत्तिकै देखिन्छ । तर सोही सप्तकोशी नदीमा आएको बाढीको पानीमा बगेर आउने काठ दाउरा सङ्कलन गर्ने सुनसरी र सप्तरीका नागरिकका लागि अवसर हुने गरेको छ । 

पूर्वी पहाडी जिल्लामा केही दिनको अविरल वर्षाले त्रास बढेको छ भने सप्तकोशी नदीमा बगाएर ल्याएको काठ दाउरा सङकलन गर्ने कोशी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर बनेको छ । कोशी गाउँपालिका–८ भाण्टाबारीका सजिंत केबठले कोशीबाट दाउरा निकालेर वर्षभरी पुग्ने खाध्यान र दशैं खर्च जुटाइरहनुभएको छ । नदीबाट दाउरा निकालेर कोही कोशी ब्यारेजको पुल दायाबाया र केही कोशीको बगरमा राखेको देख्दा धेरैले सजिलो ठानेपनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

बिहानदेखि राती आठबजेसम्म सुरक्षाकर्मीलाई समेत छलेर कोशीमा आएको बाढीले बगाएर ल्याएको काठ दाउरा निकालेर वर्षभरी पुग्ने घरखर्च, औषधी उपतार र दशैं खर्च जुटाइरहेको भाण्टाबारीका पत्रकार देवराजा यादवले बताउनुभयो ।

कोशी क्षेत्रका माझी, मलाहा, सरदार र केबठ समुदायका बालबालिकादेखी जेष्ठनागरिकसम्मले अरु समयमा मजदुरी गर्ने भएपनि वर्षा र बाढीको समयमा अधिकांशले घर खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरिरहेका छन् । बराहक्षेत्र र कोशी गाउँपालिकाको विभिन्न वडाको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् ।

नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको कोशी ८ का रोशन यादवले जानकारी दिनुभयो । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि मलाहा,माझी र सरदार समुदायका लागि अवसर बनेको छ ।

कोशी ८ का अजय मलाहाले भन्नुभयो, “सजिलो त कहाँ छ र दाउरा निकाल्न । निकै बल लगाउनुपर्छ । निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ ।”

कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा सङ्कलन गर्नेको भीड लाग्छ ।” कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुङ्गा लिएर नदीको बीचसम्म पुगेर दाउरा सङ्कलन गर्छन् । महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा सङ्कलन गर्छन् ।

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको कोशी –८ का आशिक माझीले बताउनुभयो । कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एकदिनमै तीन देखि चार ट्याक्टरसम्म सङ्कलन गर्न भ्याउछन् ।

कोशी आशपासका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको काठदाउरा बनेको स्थानीय नितिश शर्माले बताउनुभयो । बाढीले दाउरामात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ । त्यहाँका युवाहरूले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको स्थानीयवासी सन्तोष राजवंशीले बताउनुभयो ।

कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन् । सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पु, हरिपुर र भाण्टाबारी कोशीव्यारेज लगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन् ।

धेरैजसोले समूह बनाएर डुङ्गाको प्रयोगबाट कोशी नदीको भङ्गालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा सङ्कलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ ।

Share:

प्रतिक्रिया