Monday, June 15, 2026

Font Size:

logo
1 years ago April 26, 2025 Visted:263

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी


img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताउनुभएको छ ।

शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ ।

ट्रम्पले भन्नुभयो, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।”

वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ ।

दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भन्नुभयो, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।”

इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उहाँलाई टाइमले सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “यो सही होइन ।”

नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भन्नुभयो, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भन्नुभयो ।

ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए ।

मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।

Share:

प्रतिक्रिया