काठमाडौं, वैदेशिक रोजगारको लागि वर्षेनी लाखौं मानिसहरु विदेशिने गरेका छन् । विदेशको नीति नियम मात्र नभएर आफ्नै देशको नीति नियम थाहा नपाउँदा पनि हजारौं मानिसहरु ठगिने गरेका छन् । सरकारले सेवा शुल्क १० हजार बाहेक अन्य कुनै पनि शुल्क लिन नपाइने तोकेको भए तापनि यो भने कतै पनि लागू भएको देखिँदैन ।
त्यस्तै वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने गरेका छन् ।
कमजोर शैक्षिक योग्यता, वैदेशिक रोजगार सम्बन्धी चेतनाको कमी, आफूले केही बुझ्न नचाही धेरै अरुमा भरपर्ने कारण मानिसहरु ठगिने गरेका छन् । यसरी ठगिँदा कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्कामा पर्ने, विदेशी भूमिमा पीडित बन्नुपर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजायसमेत भोग्नुपर्ने र ज्यानसमेत गुमाउनु पर्ने हुन सक्छ ।
यसर्थ बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याइ यकिन गरी श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र बैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुले तल दिइएको कुरामा विशेष ध्यान दिन जरुरी छ ।
१, वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरी २ किसिमले वैदेशिक रोजगार विभागअन्तर्गत सोल्टीमोडस्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र लिई नियमित रुपमा नवीकरण भएका इजाजत पत्रवाला संस्थाहरु ‘म्यानपावर कम्पनी’ ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो कि होइन ? उक्त मेनपावरको काम कारबाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नुहोस् । व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नुहुनेछ ।
२, वैदेशिक रोजगारमा जाँदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेबापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम काम, भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलब भत्ता, अन्य सुविधा र सेवाशर्तहरु बारे चित्त बुझेमा मात्र राजीखुसी साथ सम्झौता पत्रमा सही गर्नुहोस् । सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौता पत्र नगर्नुहोस् ठगिन पनि सक्नुहुन्छ ।
३, बैदेशिक रोजगारमा जाँंदा कुन संस्थाबाट वा को मार्फत् जाने हो । त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् । ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनुहोस् ठगिने बढी सम्भावना हुन्छ ।
४, आफ्नो नाममा भिसा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुहोला । साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई दिनुहुँदैन ।
५, इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा ? कुन कामका लागि ? कति अवधि भित्र पठाउने ? र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनुपर्छ ।
६, जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रीति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।
७, आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं। डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।
८, सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् ।
९, सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।
१०, कल्याणकारी कोषमा रु एक हजार पाँच सय बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइँदैन ।
११, विदेश जानु अघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखीकरण तालिम ओरेन्टेसन तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखीकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्बन्धी सामान्य कानुनी प्रावधानलगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ ।
१२, वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफूले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजु गरी लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।
१३, कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुदै हवाई टिकट खरिद नगर्नुहोला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस् । यदि कसैले तपाईलाई ललाईफकाई लैजाँदै छ भने स्थानीय प्रहरीलाई खबर गर्नुहोस् ।
१४, लुकीछिपी जाँदा कानूनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस् पुर्याउनुहोस् ।
१५, बैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस् । साथै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ ।
१६, पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा बैदेशिक रोजगारमा पुनस् जाँदा अनिवार्य रुपले पुनः श्रम स्वीकृति नवीकरण लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरिकाबाट भिसाको म्यादभन्दा बढी समय नबस्नुहोस् । अन्यथा सम्बन्धित देशको कानून अनुसार कारबाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुहोस् ।
१७, कुनै पनि व्यक्तिले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, बैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।
१८, बैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित लट नम्बर टाइप गरी ३४००१ मा म्यासेज गरी आधिकारिकता बुझ्नुहोस । (उदाहरणको लागि ीत ल्यस् द्दण्द्दण्द्दण् छ भने ीत्?कउबअभश्रद्दण्द्दण्द्दण् टाईप गरी ३४००१ मा म्यासेज गर्नुहोस् ।
१९, बैदेशिक रोजगारमा जाँदा एचआईभी एड्स तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला ।
२०, बैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ति नगर्नुहोस् ।
२१, मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिएमा विभागमा सम्पर्क गर्नुपर्छ ।
२२, विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु छन् ?
विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु सम्बन्धी जानकारी लिन पनि जरुरी हुन्छ । विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ ।
रेमिटेन्स कम्पनीका उदाहरणहरु ः वेस्टर्न युनियन मनी ट्रन्सफर, आई एम ई, मनी ग्राम आदि हुन् र बैंक खाता भन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ ।
रेमिटेन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेन्स कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ ।
फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउन्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ ।
बैंकबाट बैंक खातामार्फत् मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तर्राष्ट्रिय सञ्चाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्राष्ट्रिय कोड जसलाई स्विफ्ट कोड (क्ध्क्ष्ँत् ऋयमभ ) भनिन्छ । यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।
पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
२३, उमेर र विवरण
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुले थाहा पाउनुपर्ने अन्य कुराहरुमा उमेर विवरण पनि हो । १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ । रोजगारीमा जाने क्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन ।
२४, संस्थागत पहल
वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ ।
संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन ।व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ ।
२५, आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने
वैदेशिक रोजगारको निमित्त जानेक्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ ।
वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ताबापत् कति रकम बुझाएको हो सो समेतको निस्सा लिनुपर्छ । बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ । रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ ।
राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ ।
२६, तालिम तथा सुरक्षा
वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ ।
एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन । वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नु पूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ ।
२७, पूर्व तयारीको अवलम्बन
वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन ।
२८, क्षतिपूर्ति
कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनु पर्छ ।
२९, विदेशमा सम्पर्क र समन्वय
नियम अनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दूतावास, वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ । वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ ।
३०, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन ।
३१, वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिक बारे राम्ररी जानकारी लिई जानुपर्छ ।
३२, स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानुपूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।
स्रोतः विकास न्युज
प्रतिक्रिया